शनिवार, आश्विन १७ गते २०८३

गृहमन्त्री भन्छन्– आधारभूत दर्जाका प्रहरीको १६ वर्षमै पेन्सन हुने कानुन निर्माण गर्दैछौँ

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आधारभूत दर्जाका प्रहरीले १६ वर्षमै पेन्सन हुने गरी कानुन निर्माण गर्न लागिएको बताएका छन् ।

आज काठमाडौंमा नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानुन यथाशीघ्र जारी गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । गृहमन्त्री लेखकले भने, ‘प्रहरी सम्बन्धी कानुनको नयाँ मस्यौदामा आधारभूत दर्जाका प्रहरीको २० वर्षमा निवृत्ति हुने व्यवस्थालाई अब चार वर्ष घटाएर १६ वर्षमा झारिने छ ।’

उनले थपे, ‘प्रहरीको कार्यालय सहयोगीदेखि हवल्दारसम्मको तहलाई हामीले आधारभूत तह भनेका छौँ । अब बन्ने कानुनमा यो तहका प्रहरी १६ वर्षमै सेवा निवृत्ति हुनेछन् ।’ उनले आधारभूत तहका प्रहरीले १६ वर्षसम्म उभिएर न्यूनतम ८ देखि अधिकतम १४ घण्टासम्म दैनिक ड्युटी गर्ने भएकाले उनीहरूलाई १६ वर्षमै पेन्सन हुने व्यवस्था गर्न लागिएको जानकारी दिएका छन् ।

उनले भने, ‘निजामति कर्मचारी कुर्सी–टेबुलमा बसेर जम्मा ५–६ घण्टा काम गर्छन्, त्यसरी हिसाब गर्दा आधारभूत तहका प्रहरीले १६ वर्षमै २३–२४ वर्ष काम गरेको देखिन्छ ।’

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई देशका सबै जातजाती, लिंग र भूगोलको बनाइने र महिलाहरूको आरक्षणलाई थप गरिने पनि बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार