काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले मानव तस्करीको जालो नभत्किएसम्म दोषी कानुनको कठघरामा नआउने भन्दै सरकारले छानबिन नगरेकोमा प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद नेपालीले उपसभामुख इन्दिरा राना मगरमाथि पटकपटक प्रतिशोध राखेर प्रश्न उठाउने काम भएको आरोप लगाएका छन् । उपसभामुख राना अमेरिका भ्रमणमा जानुअघि संसद् सचिवालयको लेटरहेड हतै दर्ता नभएको र कार्यान्वयन पनि नभएको जिकिर गर्दै उनले त्यतिबेलै किन कारबाही नभएको भन्दै प्रश्न गरेका छन् ।
सांसद नेपालीले भने, ‘त्यो पत्र कहिँकतै दर्ता छैन् । कार्यान्वयन भएको पनि छैन । तर, त्यसलाई १७ महिना लुकाएर सार्वजनिक गरियो, यदी त्यो गलत थियो भने त्यसैबेला कारबाही किन भएन ? किनभने त्यतिबेला संवैधानिक निकायको चर्चा थिएन । अहिले किन राजनीतिक हतियार बनाइयो ?’ मानव तस्करीजस्तो गम्भीर विषय उठ्दा ठूला दल किन तर्सिएको ? भन्दै उनले प्रश्न गरेका छन् ।
सांसद नेपालीले भने, ‘रास्वपाले स्वतन्त्र छानबिन समिति बनाउनुस् हामी सहयोग गर्छौं भनेको थियो । किन भएन ? उपसभामुखजस्तो पदलाई बारम्बार खेलौना बनाउन कसरी मिल्छ ? त्यसैले यो राजनीतिक खेल बन्द गरियोस् ।’ उनले संसारका हरेक राष्ट्रहरूमा जब भ्रष्टाचार र अत्याचारको सीमा चरम भएपछि परिवर्तनको बाहकलाई राष्ट्रले जन्माउने बताएका छन् ।
उनले भने, ‘नयाँ वैकल्पिक शक्ति सिध्याउने बाहनामा रवि लामिछानेमाथि अन्याय गर्यो, अब आदीवासी, जनजाती समुदायकी छोरी उपसभामुख इन्दिरा रानामगरमाथि अंकगणितीय खेल खेल्दैछ ।’