काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकबाट व्यापार खोल्ने भारत–चीन सहमतिबारे सरकारसँग जवाफ मागेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद पाण्डेले भारत र चीनबीच नेपाली भूमि लिपुलेक भएर द्विपक्षीय व्यापार खोल्ने सहमति भएको विषयबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । सांसद पाण्डेले यस विषयमा सरकारले संसद्लाई आवश्यक जानकारी गराउनुपर्नेमा सभामुखमार्फत ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘सम्माननीय सभामुखज्यू आज नेपाल आमालाई दुखी रहेको छ । हाम्रा दुई छिमेकी मित्र राष्ट्रहरू चीन र भारतले हाम्रो देश नेपाललाई जानकारी समेत नदिई लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेको भन्ने खबरले हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले नेपालको संविधानमा उल्लेख भएको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुराबारे कुनै जानकारी समेत नदिई गरिएको भनिएको उक्त सहमतिप्रति आपत्ति जनाएका छन् ।
उनले विगतमा पनि आफ्नो पार्टीले यो विषयमा नेपालको राष्ट्रिय सार्वभौमिकता तथा अखण्डताको विरुद्ध छ भनेर आवाज उठाएको बताएका छन् । कुनै पनि सरकारको मुख्य कामभित्र पर्ने राष्ट्रिय सार्वभौमिकता र अखण्डताको रक्षाका लागि दरोसँग उभिन उनले सरकारसँग आग्रह गरेका छन् । आवश्यक प्रभावकारी कूटनीतिक पहल अघि बढाएर नेपालको सार्वभौमिकता एवं हितको पक्षमा दुवै छिमेकी मित्र राष्ट्रहरूसँग आवश्यक प्रभावकारी कूटनीतिक राजनीतिक पहल अघि बढाउन प्रमुख विपक्षी दलको तर्फबाट उनले सरकारसँग अपिल गरेका छन् ।
उनले यस्तो विषयमा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता तथा अखण्डताको रक्षा र नेपालको हितको पक्षमा एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।