काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।
भण्डारीले एमालेका विभिन्न नेताहरूको उपस्थितिमा थापागाउँस्थित लाखेचौर मार्गमा स्थापना गरिएको सम्पर्क कार्यालय आफैँ उद्घाटन गरेकी हुन् । भण्डारीको उक्त सम्पर्क कार्यालयलाई ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ । उद्घाटनमा एमालेका उपाध्यक्षहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत उपस्थित थिए ।
यस्तै, नेताहरू सरिता न्यौपाने, बाबुराम गौतम, कृष्ण प्रसाद दाहाल, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, काठमाडौं अध्यक्ष दिपक निरौला, पूर्वमन्त्री महेन्द्र पाण्डेलगायत नेताहरू पुगेका छन् । उद्घाटन समारोहमा मदन भण्डारीको तस्बिरमा माल्यार्पण गर्नुका साथै मदनको भाषण पनि सुनाइएको थियो ।
पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न भन्दै आफ्नै संरक्षकत्वमा बेग्लै संयन्त्रको अभ्यास सुरू गरेकी हुन् ।
उक्त संयन्त्रका लागि पूर्वराष्ट्रपति भण्डारीले आफ्ना पति एवम् नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालमा चुनावी कार्यक्रमका लागि सम्पर्क कार्यालय खोलेको घरलाई नै सम्पर्क कार्यालयका रुपमा रोजेकी छन् ।