आफू प्रधानमन्त्रीको रूपमा भारतको भ्रमणको सन्दर्भमा भारतका प्रधानमन्त्रीसँग औपचारिक तथा सार्वजनिक रूपमा कालापानी, लिपुलेकजस्ता सीमा समस्या समाधानका लागि गरिएको प्रयासलाई अहिलेको सरकारले अगाडि बढाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘प्रधानमन्त्रीका रूपमा मैले गरेका सकारात्मक काम जनतालाई जानकारी दिनु पार्टीका कार्यकर्ताहरूको जिम्मेवारी हो, हाम्रै साथीहरूले हाम्रै उपलब्धिहरू नबोल्दा विकृति आउँछ भन्ने बुझ्न जरुरी छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले पार्टीभित्र आलोचना र आत्मसमीक्षाको आवश्यकतामा जोड दिँदै वैचारिक अराजकता र अनुशासनहीनताले संगठनमा चुनौति उत्पन्न भएको समेत बताए । उनले प्रदेशका नेताहरूले राखेका सुझाव र चिन्ताहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै पार्टीले ठूला–ठूला चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने बताए ।
‘समाजवादको तयारी गर्न हामीले अझ ठूला वैचारिक बहस र राजनीतिक संघर्ष पार गर्नुपर्छ,’ उनले भने, ‘मार्क्सवादले भनेको आलोचना र आत्मसमीक्षा यही हो ।’
अध्यक्ष प्रचण्डले १ नम्बर प्रदेशलाई ‘अग्रगामी चेतनाको स्रोत’ भन्दै यहाँका कार्यकर्ताहरूको आलोचनात्मक चेतना पार्टी विकासका लागि सकारात्मक संकेतको रूपमा व्याख्या गरेका छन् ।
पार्टी विभाजनपछि पुन: मूलधारमा फर्किएका नेताकार्यकर्ताहरू अनुभव र आत्मसमीक्षासहित पार्टीमा फर्किएकाले आएका नेता–कार्यकर्तालाई स्वागत गर्न हिच्किचाउन नहुने बताउँदै उनले होच्याउने, हेला गर्ने काम नगर्न निर्देशन दिए ।
अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा विराटनगरमा सम्पन्न प्रदेश समिति सचिवालय बैठकले पार्टीभित्रको वैचारिक बहस, संगठन निर्माण तथा समसामयिक राजनीतिक विषयमा गहन छलफल गरेको छ ।