शनिवार, आश्विन १७ गते २०८३

प्रतिनिधि सभाले भदौमा यी ३ विधेयक पारित गर्ने, शिक्षा विधेयक २६ गते पारित गरिने

बिहिवार , भाद्र १२, २०८२

काठमाडौँ । प्रतिनिधि सभाले भदौ महिनामा विभिन्न महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

बिहीबार भदौ महिनाको क्यालेन्डरबारे छलफलपश्चात सञ्चारमाध्यमसँग कुरा गर्दै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भूमिसँग सम्बन्धी विधेयक, नागरिकतासँग सम्बन्धित विधेयक र शिक्षा विधेयकलाई पारित गर्ने बताए ।

उनले भने, ‘भोलिको बैठक (१३ गते) भूमिसँग सम्बन्धी विधेयकलाई कार्यसूचीमा राख्नेछौं र पारित गरी राष्ट्रिय सभामा पठाउने छौं । भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सम्बोधन गर्ने तालिका छ ।’

उनले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित ऐन राष्ट्रपति कार्यालयबाट फिर्ता भएको र त्यसलाई सभामा छलफल गरेर पारित गर्ने गरी कार्यसूचीमा राखेको पनि बताए ।

‘१८ गते सम्भवत: नागरिकतासँग सम्बन्धित विधेयक पारित गर्छौं । त्यसैगरी संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित राष्ट्रपति कार्यालयबाट फिर्ता भएको त्यसलाई सभामा छलफल गरेर पारित गर्नेगरी कार्यसूचीमा राखेका छौं, त्यो पारित गर्छौं,’ उनले भने, ‘हामी विशेषगरी २६ गते शिक्षा विधेयकलाई पारित गर्ने गरी लैजान्छौं, यसरी यो महिना बैठक बसेर संघीयता कार्यान्वयनसँग जोडिएको महत्त्वपूर्ण विधेयक शिक्षा विधेयक पारित गर्छौं ।’

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बिना लामा सहभागि थिए ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार