काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार जानलागेको चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराएका हुन् । यसअघि शुक्रबार बिहानै बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको थियो । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको हो ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणका क्रममा आफ्नो प्रतिनिधिमण्डलले नेपालको हित र प्रतिष्ठा माथि उठाउने बचन दिएका छन् ।
उनले भने, ‘म माननीय ज्युलाई के विश्वास दिलाउन चाहन्छु भने हामीले नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्ने छ, विश्वस्त रहन आग्रह गर्दछु ।’