काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत-चीनले नेपाली भूभाग लिपुलेक क्षेत्रबाट व्यापार गर्ने गरी गरेको सम्झौताबारे कुरा उठाउने बताएका छन्। शनिबार चीन भ्रमण जाने ओलीले त्यहाँ यसबारे कुरा गर्ने बताएका हुन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा चीन भ्रमणबारे जानकारी गराएका ओलीले सम्बोधनका क्रममा भने लिपुलेकको विषयमा केही कुरा गरेका थिएनन्। उनले चीन भ्रमणमा आफ्नो तालिका र कार्यक्रम सार्वजनिक गर्दा लिपुलेकको कुरा गर्नेबारे बोलेका थिएनन्।
बैठकपछि बाहिरिनेक्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिनेक्रममा भने लिपुलेकबारे कुरा गर्ने बताए। उच्चस्तरीय भेटघाटमा लिपुलेकको कुरा त उठ्लान नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने- अवश्य उठ्छ। ओलीले भदौ १४ गतेदेखि १८ गतेसम्म चीन भ्रमणमा जाँदैछन्।
उनले भ्रमणका क्रममा चीनियाँ राष्ट्रपति सी चीनफिङ, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसहित विभिन्न देशका प्रमुखसँग भेटवार्ता तय भएको जानकारी गराए।
'हालसम्म रूसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ' उनले भने। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चीनमै भेट हुने भनेर चर्चा भए पनि उनले यसबारे सदनलाई कुनै जानकारी दिएनन्।