शनिवार, आश्विन १७ गते २०८३

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश फर्किँदै

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली नेतृत्वको टोली आज साँझ साढे ८ बजे काठमाडौं अवतरण गर्नेछ । यही भदौ १४ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री ओली बुधबार स्वदेश फिर्ता हुने भएका हुन् ।

प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता समेत गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वका केही नेताहरूसँग भेटवार्ता गरेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

चीन भ्रमणमा प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन् ।  



प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार