काठमाडौं । काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ भने २१६ जना भन्दा बढी घाइते भएका छन् ।
ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ । उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यस्तै काठमाडौं मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ ।
टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । अहिले काठमाडौंका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ । मृतकहरूको परिचय खुलेको छैन् । मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका सरकारी र निजी गरी ७ अस्पतालमा २१६ जना भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये २२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।