काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको दोहोर्याएका छन् ।
उपसभापति खड्काले आइतबार विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन विरुद्ध पार्टी रहेको बताएका हुन् । प्रतिनिधिसभा विघटनको कार्य पूर्ण रुपमा अलोकतान्कि र असंवैधानिक भएको उनले बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै उनले प्रतिनिधिसभा विघटनको कार्यले संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको बताएका छन् ।
खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ, यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ ।’
उनले यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत भएको बताएका छन् । उपसभापति खड्काले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह गरेका छन् ।
भदौ २३ र २४ गते भएको घटनाको सम्पूर्ण छानबिन गर्नका लागि माग गरेको स्मरण गराउँदै सरकारलाई पुनः स्मरण गरिएको बताएका छन् ।