काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारलाई आफुलाई पक्राउ गर्न चुनौती दिएका छन्। गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको एक सूचनाप्रति आपत्ति जनाउँदै आफूलाई पक्राउ गर्न सरकारलाई चुनौति दिएका हुन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘म शेरबहादुर देउवाजीलाई एउटा देशभक्त नागरिकको हैसियतले यहीँबाट चुनौतीका साथ भन्न चाहन्छु एमसिसी राष्ट्रघाती सम्झौता हो, मैले भनें मलाई गिरफ्तार गर्नू, गृह मन्त्रालय आउ, को छ यहाँ मलाई पक्रेर लग।’
गृह मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गर्दै मित्र राष्ट्रहरुको सहयोगमा संचालित विकास आयोजना विरुद्ध नकारात्मक टिकाटिप्पणी गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिनेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो।
यस्ता धम्कीले देशभक्त नेपाली जनता नधम्किने भन्दै उनले अगाडी भने, ‘यो निरङ्कुशतन्त्र होइन, नेपाली जनताले रगत बगाएर ल्याएको लोकतन्त्र हो, मंचमै बुट बजार्दै रावलले भने, तिम्रो धम्कीलाई म देशभक्त नेपाली जनताको बुटले यहीँबाट कुल्चिदिन्छु।’
नेता रावलले लोकतन्त्र हो कि शेरबहादुर देउवाजीले अर्कै तन्त्र ल्याइसक्नुभयो भन्दै कटाक्ष गरे। साथै उने ५० दिन भइसक्दा समेत मन्त्रिपरिषदले पूर्णता नपाएको भन्दै एमसीसी सम्झौताबारे यस्ता सुचना निकाल्न सरकारले लाज मान्नुपर्ने भनाई राखे।