काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धको बेला अप्ठेरो ठाउँमा जिम्मेवारी लिन हानथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको आरोप लगाएका छन्।
पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि लगाव धेरै देखिएको भनाई राखे। उनले भने, ‘गुट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गुट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको छ।’
प्रचण्डले एक फरक प्रसंगमा संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए। राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै उनले जरुरी परे सडकमा जानुपर्ने हुनसक्ने बताए। दिवंगत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे। तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए।