काठमाडौं। नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले आलोचकहरुलाई विरोधीको संज्ञा दिएका छन्। एमालेको विधान महाधिवेशनमा भएका तामझाम, खानपिन लगायतलाई लिएर सामाजिक संजालमा निकै आलोचना भैरहैको छ। तर त्यस्तो आलोचकलाई ओलीले एमालेको विरोधी भएको बताएका छन्।
महाधिवेशनमा ओलीका डमी र तस्बिर जताततै लगाइएको थियो। पानीको बोतलदेखि सवारी साधनमा समेत ओलीका तस्बिर लगाइएको थियो। जसको एमालेकै कार्यकर्ताहरूले पनि आलोचना गरेका थिए। विधान महाधिवेशन समापन समारोहलाई आइतबार सम्बोधन गर्दै ओलीले विधान महाधिवेशनमा भएको तामझामको आलोचना गर्नेहरूलाई विरोधी भन्दै एमालेविरुद्धको हमला भएको बताए।
ओलीले भने, ’एमालेको महाधिवेशनमा ब्यानर देखिए, झन्डा देखिए, तामझाम देखियो भनेर छाती पिट्छन् विरोधीहरू।’ ‘यो हाम्रो विरुद्धको हमलाको विभिन्न रुप हो।’ ओलीले एमाले पार्टी व्यक्ति र मूर्ति पूजक नभएको दाबी गरे । उनले भने, ’हामी व्यक्ति, मूर्ति पूजक होइनौं । धर्मान्धतामा विश्वास गर्दैनौं।’ एमालेका कार्यकर्ताले संगठन र नेतृत्वमा विश्वास गर्ने उनको भनाइ थियो।