काठमाडौं। भारतको नियन्त्रणमा रहेको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने भएको छ। जनगणना कार्यालय दार्चुलाले उक्त क्षेत्रमा यस वर्षमा पनि जनगणना नहुने भएको हो। सने क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन।
यस अघीको सरकारले सो क्षेत्रलाई समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपश्चात गणना हुन्छ कि भन्ने थियो। जिल्ला प्रशासन कार्यालयले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा आफ्नो उपस्थिति नरहेको जनाएको छ। ती तीनवटै क्षेत्रमा सरकारको उपस्थिति नरहेका कारण जनगणना नहुने निश्चित भएको छ।
जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले नेपाल सरकारको उपस्थिति रहेको र सरकारले आफ्नो भूमी उपभोग गरिरहेको क्षेत्रसम्म मात्रै सुपरीवेक्षक पुग्ने बताए। सरकारले उपभोग गर्न नसकिरहेको र नेपालको प्रशासनिक तथा सैनिक उपस्थिति नभएको, सरकारको नियन्त्रण बाहिर रहेको भू–भागमा सुपरिवेक्षक जान नसक्ने उनले प्रष्ट पारे।