काठमाडौं। लामो समयदेखी जनगणना समेत हुन नसकेको कालापानी–लिपुलेकका नेपालीसँग भारतीय नागरिकता रहेको छ। लिम्पियाधुरादेखि बगेर आउने महाकालीनदीको पूर्वीक्षेत्रमा पर्ने कुटी, नाभी र गुञ्जीगाउँका वासिन्दासँग अहिले भारतीय नागरिकता रहेको हो।
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालले जनगणना गर्नुपर्ने माग चर्कोरुपमा उठिरहेको छ। तर, सरकारले यसका लागि कुनै तयारी गरेको छैन। र यसअघी दार्चुला प्रशासनले सरकारले भोगचलन गरेको क्षेत्रमा मात्रै जनगणना गरिने बताएको थियो।
भारत अधिनस्थ यी क्षेत्रहरुलाई केपी ओलीको अघिल्लो सरकारले नेपालको नयाँ नक्शामा समेटेको थियो। तर, अझैसम्म पनि त्यहाँ नेपालको पहुँच भने स्थापित भएको छैन। बरु भारतीय पक्षले नेपालीको प्रवेशमा झन् कडाइ गरेको छ।
भारतको सैनिक नियन्त्रणमा रहेको उक्त क्षेत्रमा भारतीय नागरिकले समेत प्रशासनको लिखित अनुमति लिएर मात्रै प्रवेश पाउँछन्। कुनै पनि नेपालीले त्यसक्षेत्रमा भ्रमण गर्न असम्भवप्राय: छ। नयाँ नक्सा जारी हुनुभन्दा पहिले त्यस क्षेत्रका सुरक्षाकर्मीको कामदारका रूपमा नेपालीहरू जाने गरेका थिए। तर, हाल नेपालीहरूको प्रवेशमा पूर्ण निषेध गरिएको छ।
राष्ट्रिय जनगणनाका लागि दार्चुला जिल्लामा घरपरिवारको लागत संकलन गरिएको छ। तर, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ती गाउँहरूको लगत संकलन गर्न नसकिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए।
भारतको अतिक्रमणका परेका गाउँहरूमा यथास्थितिमा सुपरिवेक्षक वा गणक गएर गणना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।