काठमाडौं। बझाङको थलारामा पहिरोमा परी २३ जना वेपत्ता भएका छन्। थलारा गाँउपालिका–४ डिख्लामा विहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका हुन्। गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट खसेको पहिरोले दुई परिवारका २३ जना वेपत्ता भएको हुन्।
बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना छन्। गगने सार्की रोजगारीका सिलसिलमा भारतमा छन्। उनका माइला छोरा काले सार्की मात्र सकुशल रहेको बुझिएको छ। तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भएर त्रिभुवन मावि महेन्द्रधारको भवनमा बसिरहेका छन्।
पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन्। गाँउ पहिरोको जोखिममा रहेपछि सय भन्दा बढी परिवार आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए।
बझाङसहित सुदूरपश्चिमका सबै पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरण प्राप्त हुन सकेको छैन।बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए।