काठमाडौं। नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन्। उनले शुक्रबार १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन्।
स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताए।
‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने।
उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए। स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन्। उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन्।