काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘ठग’ भनेका छन्। चितवनमा ठूला विकासका काम हुन लाग्दा ओलीले रोक्ने गरेको उनले दाबी गरे।
चितवनको टाँडीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘मान्छेलाई झूटो बोलेर भ्रम दिन र क्षणिकरूपमा ठग्न यत्तिको सिपालु मान्छे नेपालमा अर्को छैन। मैले तीन वर्षसँगै बसेर के बुझेँ (हाँस्दै) भने यति सफल ठग पनि नेपालमा जन्मेको रहेछ । केपी ओली ठगै हो भन्ने तपाईंहरूले जनतालाई बुझाउनुहोला।’
प्रचण्डले थपे, ‘हुन त केपी ओलीलाई प्रधानमन्त्री बनाउने को हो भन्दा प्रचण्ड नै हो फेरि। त्यसको नैतिक जिम्मेवारी मैले लिनुपर्ने होला। तर, महान ठगको फेला परियो भन्या।’ चितवनमा ठूला विकासका काम हुन लाग्दा ओलीले भाँजो हाल्ने गरेको समेत उनले आरोप लगाए। ओलीले प्रधानमन्त्री छँदा सरकारी कर्मचारीलाई आफूसँग नजिक हुन नदिएको समेत प्रचण्डले गुनासो गरे।