काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा पदाधिकारी चयनमा सहमतिका लागि दबाब नदिने बताएका छन्। मंगलबार सम्पादकहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा बिना करकाप प्रतिस्पर्धा गर्न छुट भएको बताए।
त्यस्तै अर्को प्रसंगमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापाबाट चुनाव लड्न सुझाव दिएका छन्। एमालेको दशौं महाधिवेशन चितवनमा किन गरियो भन्ने प्रश्नको जवाफ दिँदै ओलीले महाधिवेशन कहाँ गर्ने भन्नेबारे निर्णय गर्नु कुनै पनि पार्टीको सहजता र स्वतन्त्रताको विषय भएको जनाए।
प्रचण्डकै चुनाव क्षेत्रलाई लक्षित गरेर एमालेले महाधिवेशनस्थल तोकेको हो कि भन्नेबारे हुँदै आएको चर्चातर्फ केन्द्रित हुँदै ओलीले कोही कहीँबाट चुनाव लड्दैमा त्यो जिल्ला उसकै हो भनेर भन्न नमिल्ने बताए। यसअघी प्रचण्डले आफुलाई सिध्याउने हेतुले एमालेले चितवनमा महाधिवशेन गर्न लागेको आरोप लगाउँदै आएका थिए।