काठमाडौं। केन्द्रीय कमिटीको प्रस्ताव गर्ने सर्वाधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीलाई सहमति नजुट्दा सकस भएको छ। ओली नेताहरुसँग छलफलमा व्यस्त छन्। सौराहस्थित पार्क सफारी होटलमा बसेका उनले नेताहरुसँग समूहगत र एक्काएक्लै छलफल गरिरहेका छन्।
केन्द्रीय सदस्यहरुका लागि लबिइङ गर्दै ओलीलाई भेट्न प्रतिनिधिहरु पनि होटलमा पुगेका छन्। तर अहिलेसम्म पदाधिकारीमै सहमति जुटेको छैन। अध्यक्षमै उम्मेदवारी दिने भीम रावलको अडान कायमै छ। ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पारेखलको नाम अघि सारेका छन्।
अर्का दावेदार सुवास नेम्वाङलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन्। तर एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन्। नेम्वाङलाई जनजाति प्रतिनिधिहरुले समेत दाबी नछाड्न दबाव दिएका छन्।
यस्तै ओलीले महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन्। अर्का दावेदार विष्णु पौडेललाई उपाध्यक्षमा बस्न आग्रह गरेका छन्। तर पौडेल सहमत भइसकेको छैनन्। १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुको समेत आफूलाई समर्थन गरेको भन्दै उनी पोखरेललाई महासचिव छाड्न तयार भएका छैनन्।