काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धन दलका नेताहरूसँग उनले विश्वासको मत लिने विषयमा सामान्य छलफल गरेका थिए।
माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
अहिलेसम्म उनले विश्वासको मत लिने विषयमा ठोस निणर्य गर्न सकेका छैनन्। मुख्यमन्त्रीमा शाह सुरक्षित रहेपनि केन्द्रबाट निर्देशन नआएको हुँदा उनले विश्वासको मत लिने मिति निर्धारण गर्न नसकेका हुन्। तर, मंगलबार भने उनले २१ गते विश्वासको मत लिने आशय व्यक्त गरेको छलफलमा रहेका एक सांसदले बताएका छन् ।
राष्ट्रपतिमा पौडेललाई जिताउन धनगढीमा १९ गते सत्ता गठबन्धनका सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ त्यसको संयोजन मुख्यमन्त्री आफैले गर्ने भएका छन् ।
सोही विषयमा बोलाइएको छलफलमा उनले २१ गते विश्वासको मत लिने विषयमा चर्चा गरेका थिए।