आइतवार, आश्विन १८ गते २०८३

कानुनमन्त्री चौरसिया भन्छन्– बहुविवाहलाई वैधता दिने चर्चा झुटो हो

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री चौरसियाले मुलुक अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई वैधता दिने तयारी नभएको बताएका हुन् । उनले भने, ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकुल प्रभाव पार्नेगरी बहुविवाह लगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहलाई दण्डनीय अपराध भनेर बर्जित गरेको छ । तर, कानुन मन्त्रालयले विद्यमान प्रावधानलाई संशोधन गरेर ‘विशेष परिस्थितिमा’ बहुविवाहलाई वैधता दिने गरी मस्यौदा तयार भएको समाचार प्रकाशन भएपछि आलोचना भइरहेको थियो । यसबारे सदनमा पनि कुरा उठेपछि कानुनमन्त्री चौरसियाले बहुविवाहलाई वैधता दिने गरी कानुन संशोधन नगरिने बताएका हुन् ।

मन्त्री चौरसियाले भने, ‘सामाजिक व्यवस्था नै खलल गर्नेगरी कानुन निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन सक्दैन, नेपाल सरकार मन्त्रिपरिषद्को विधायन समितिमा विधेयकको मस्यौदा विचाराधीन रहेकै अवस्थामा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको र यस विषयमा माननीय सांसदज्युहरुले चासो व्यक्त गरी सम्मानित सभामा उठाउनुभएका विषयहरूप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’

उनले मुलुकी अपराध संहिताका विद्यमान प्रावधानहरूमा संशोधन गर्ने तयारी भने भएको बताएका छन् । बहुविवाहको उमेर, अग्रिम जमानत, राष्ट्रपतिबाट दिइने आममाफीबारे विधेयकमा संशोधन प्रस्ताव आएको भन्दै उनले आवश्यक संशोधन गर्ने निर्णय भएको बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार