आइतवार, आश्विन १८ गते २०८३

बाबुराम भन्छन्– पत्रिका पढ्न दिँदो रहेनछ, कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा पुगेर भेटेका छन् ।

पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा भट्टराईले आज बिहान लामिछानेलाई भेटेका हुन् । भेटपछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै भट्टराईले लामिछानेलाई थुना बाहिर रहेर मुद्दा लड्न दिनुपर्ने बताएका छन् । लामिछाने निर्वाचित सांसद भएकाले उनी भाग्ने र थप अपराध गर्ने सम्भावना नभएकाले थुनामा राखिरहन आवश्यक नभएको तर्क गरेका छन् । भट्टराईले भने, ‘जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा फेस गर्न दिनुपर्ने हो ।’

रविलाई जमानत आदि तरिकाले बाहिर निस्केर जनताको सेवा गर्न दिन या सांसद पद खारेज गरेर नयाँ चुनाव गराउन आफूले सभामुखलाई समेत भनेको भट्टराईले बताएका छन् । लामिछानेलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा सूचनाबाट बञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको बताएका छन् । यसबारे आफूले माथिल्लो निकायमा कुरा गर्ने भट्टराईले बताएका छन् ।

उनले भने, ‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पन्चायतकालमा, पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो । बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ, यसबारे म सम्बन्धित ठाउँमा भनौंला ।’

जनताको प्रतिनिधि र राजनीतिक बन्दी भएकाले सद्भाव राखेर रविलाई भेट्न आएको भट्टराईले बताएका छन् । भट्टराईले रवि लामिछानेमाथि सरकारले प्रतिशोध सांधेको दावीसहित उनको न्यायका लागि भन्दै रविको पक्षमा हस्ताक्षर समेत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार