आइतवार, आश्विन १८ गते २०८३

झलनाथलाई अध्यक्ष नेपालको सल्लाह : ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि !

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाल लक्षित कडा टिप्पणी गरेका छन् ।

पार्टीको विरुद्धमा बोल्ने र नेकपा एमालेबाट विद्रोहको औचित्य पुष्टि भएन भन्ने अभिव्यक्ति दिने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीकै सेवा गरेर बसे हुने सल्लाह नेपालले दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘मिडियामा जाने पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो ? विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि ।’

पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्नुपर्ने र पार्टी अनुशासन पालना गर्नुपर्ने उनले बताएका छन् । उनले केपी शर्मा ओलीले संविधान विरुद्ध गतिविधि गरेकाले एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएर ठिक गरेको बताएका छन् । नेपालले भने, ‘कसैले पार्टीको अनुशासन उल्लंघन गर्दछ, जथाभावी संविधान मिच्ने काम गर्दछ, संविधान मिचेर संसद भंग गर्दछ । भंग गरेको संसदलाई गफ गरेर पुनः स्थापना हुँदैन । त्यसलाई विधि र प्रक्रियाबाट पुनः स्थापना गर्न सकिन्छ ।’

उनले थपे, ‘तर कस्ता पात्रहरु ज्याद्रा छन् भने दोस्रो पटक भंग गरे । फेरि हामी दोस्रो पटक लाग्नुपर्‍यो । त्यो गरेर गल्ती गरियो ? विद्रोह गर्नु हुँदैन थियो । केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो ? कि के गर्नुपर्दथ्यो, ? ठिक गर्‍यौँ हामीले । संविधान जोगाउने मात्रै होइन, कम्युनिष्ट आन्दोलन बद्नाम गर्ने काम भइरहेको थियो । हामीले रहरले त्यो पार्टी छोडेको होइन ।’

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरुले जोगाएर ल्याएको दाबी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार