काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभामा महिला समन्वय समिति किन नबनेको भनेर सभामुखलाई प्रश्न गरेकी छन् ।
सांसद न्यौपानेले प्रश्न गरिन्, ‘के महिला भएकै कारणले यहाँ पनि विभेद सहनुपरेको हो हामीले, ? यसको जवाफ के हो ? हामी बाहिर सोध्ने कुरा भएन, सभामुख मार्फत नै चाहन्छु ।’ यथाशीघ्र महिला समन्वय समिति गठन गर्न उनले सभामुखसँग आग्रह समेत गरेकी छन् । प्रतिनिधिसभा नियमावलीको नियम २५७ मा महिला समन्वय समितिसम्बन्धी व्यवस्था छ ।
जहाँ भनिएको छ, ‘महिलाका विषयमा सभामा समान धारणा बनाउन तथा त्यस्ता धारणालाई बहस पैरवीमा ल्याउन महिला सदस्य संयोजक रहने गरी एक समिति रहनेछ ।’ तर, प्रतिनिधिसभाको चालु कार्यकालको आधा समय सकिँदा समेत महिला ककस बन्न सकेको छैन । यस्तो अभ्यास विगतमा पनि भएको थियो । पहिलो संविधानसभामा जनजाति ककस र महिला ककस थिए ।
महिला तथा आदिवासी जनजाति सभासद् समूह (ककस) ले संविधान निर्माण प्रक्रियामा सकस निम्त्याएको भनेर दोस्रो संविधानसभामा उक्त अभ्यास रोकिएको थियो । ४ मंसिर २०७९ मा सम्पन्न चुनावपछि पुनः ककसको अभ्यास ब्युँताइएको हो । ककस ब्युँताउने गरी प्रतिनिधिसभा नियमावलीमा महिला समन्वय समिति रहने प्रावधान राखिएको हो ।
समिति गठन हुन नसक्दा यो विषयमा अन्य सांसदहरूले समेत पश्न उठाउँदै आएका छन् ।