आइतवार, आश्विन १८ गते २०८३

सभापति पदबाट रामहरि खतिवडाले दिए राजीनामा

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ । प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत जिम्मेवार रहेको भनेर प्रश्न उठिरहेका बेला खतिवडाले राजीनामा दिएका हुन् ।

राजीनामा दिनु अघि सभामा बोल्दै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा समेत रहिरहने बताएका छन् । उनले निजामती सेवा विधेयकको प्रतिवेदनमा आफ्नो हस्ताक्षर रहेको बताए । सरकारी कर्मचारीलाई अवकाश लगत्तै संवैधानिक र कूटनीतिक नियुक्ति दिन नहुने र यसो गर्दा सरकारको कामकारबाही प्रभावित हुने र भविष्यमा पाउने पदका लागि कर्मचारी रहँदै गलत कार्य हुन सक्ने उनले औंल्याए ।

गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति लागेको उनको भनाइ छ । उनले सर्वसम्मत रुपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको बताएका छन् । निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको बताएका छन् ।

प्रतिनिधि सभामा बोल्ने क्रममा खतिवडाले राष्ट्रिय सभामा एमालेका तर्फबाट कुलिङ अफ पिरियड हटाउने संशोधन प्रस्ताव परेको स्मरण गरेका छन् । आफू गठबन्धनप्रति अडिग रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सभाबाट दुई वर्षको कुलिङ पिरियड लागू हुने प्रावधानसहित निजामती सेवा विधेयक पारित हुने विश्वास व्यक्त गरेका छन् । पृष्ठभूमिमा यी विषय राख्दै खतिवडाले राजीनामा दिएको घोषणा गरेका हुन् ।

राजीनामा दिँदै गर्दा उनले आफू कूटिल राजनीतिको सिकार हुन पुगको बताएका छन् । जो कुलिङ अफ पिरियड चाहिन्छ भनेर लाग्यो उही दोषी देखिने जस्तो देखाउन खोजिएको भनेर उनले आफूलाई चिन्ता लागेको बताएका छन् । संसदीय छानबिन प्रतिवेदनले आफूलाई दोषी नठहर्‍याएको पनि खतिवडाले दाबी गरेका छन् ।

आफूलाई कारबाहीको सिफारिस समेत नभएको उल्लेख गर्दै उनले भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार