काठमाडौं । नेपाल–भारत सीमा क्षेत्र जोगवनीमा दुई समूदायबीच तनाव भएपछि सीमा नाका दुई घण्टा बन्द भएको छ ।
भारततर्फको तनावका कारण नेपालीको सुरक्षाका लागि सीमा क्षेत्र २ घण्टा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार तनाव मत्थर भएसँगै अहिले सीमा नाका सुचारु गरिएको छ । भारततर्फ तनाव भएपछि जोगवनीमा किनमेल गर्न जाने नेपालीको सुरक्षालाई दुई घण्टा सीमा बन्द गरिएको थियो ।
त्यता शान्त भएसँगै सीमा सुचारु भइसकेको छ । तनावले सीमा क्षेत्रमा दुवैतर्फ सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको स्थानीयले बताएका छन् । इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै विरोध सुरु भएको जनाइएको छ ।
हिन्दु समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको भन्दै मुस्लिम समुदाय विरोधमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो । त्यसपछि बजरंग दलका युवा आइपुगेपछि मुस्लिम र हिन्दू समुदायबीच झडप भएको स्थानीयले बताएका छन् ।