काठमाडौँ । जेनजी समूहका अगुवा मिराज ढुङ्गानाले भ्रष्टाचारविरुद्धको आफ्नो अडान, प्रत्यक्ष कार्यकारी निर्वाचन, र प्रवासमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्नुपर्ने माग दोहोर्याएका छन्।
दशैंको अवसरमा जेनजी आन्दोलनको तर्फबाट विज्ञप्ति जारी गर्दै ढुङ्गानाले आन्दोलनले देखावटी प्रदर्शन वा संस्थाको बदनाम गर्ने उद्देश्य नराखेको प्रष्ट पार्दै हालैको आन्दोलनका क्रममा विश्वव्यापी ब्रान्ड र प्रतिष्ठानहरू प्रभावित हुन पुगेको घटनाप्रति खेद व्यक्त गरेका छन्।
उनले विशेष गरी ‘हिलटन’ ब्रान्डलगायत संस्थामाथि आक्षेप लगाउनु आन्दोलनको उद्देश्य कहिल्यै नभएको उल्लेख गर्दै क्षमा मागेका छन्।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो लक्ष्य भ्रष्ट र निष्क्रियलाई सत्ताबाट हटाउने, नयाँ जनमतमार्फत संविधान सुधारको बाटो खोल्ने, प्रत्यक्ष कार्यकारी निर्वाचन र जवाफदेही शासनको आधार निर्माण गर्ने हो। प्रधानमन्त्री हट्नु, संसद विघटन हुनु र निर्वाचन मिति तोकिनु हाम्रो आन्दोलनको सुरुवात मात्र हो।”
आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै ढुङ्गानाले उनीहरूको बलिदानले आन्दोलनलाई नैतिक प्रतिज्ञामा रूपान्तरण गरेको उल्लेख गरेका छन्। शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्दै उनले सहिदहरूको नाम नेपाल पुनर्जागरणको इतिहासमा सदा अंकित रहने जनाएका छन्।
विदेशमा रहेका नेपालीप्रति आन्दोलनले विशेष आह्वान गर्दै, देशलाई रेमिट्यान्समार्फत धान्ने प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न कानुनी र व्यावहारिक व्यवस्था आवश्यक रहेको माग दोहोर्याएको छ।
त्यसैगरी, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारहरूलाई सम्बोधन गर्दै विज्ञप्तिमा नेपाल सहकार्य चाहने तर टकराव नचाहने प्रष्ट पारिएको छ। लगानी, सीप र प्रविधिलाई स्वागत गर्ने उल्लेख गर्दै नेपाललाई पारदर्शी, दिगो र विश्वासिलो लगानी गन्तव्य बनाउन प्रतिवद्धता जनाइएको छ।
वरिष्ठ पुस्ता र स्थापित नेतृत्वप्रति भने आन्दोलनले अनुभवलाई अस्वीकार नगर्ने तर जवाफदेहिता अनिवार्य हुने जनाएको छ। “पदले विशेषाधिकार दिएको छ भने अब पदले नै उत्तरदायित्व दिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
अन्तर्राष्ट्रिय समुदायलाई मानवअधिकार, लोकतान्त्रिक मूल्य र आर्थिक पारदर्शिताप्रति प्रतिवद्ध रहने प्रतिज्ञा गर्दै आन्दोलनले नेपालको भविष्य दिगो साझेदारी र समृद्धितर्फ उन्मुख हुने जनाएको छ। दशैंको सन्दर्भमा जारी विज्ञप्तिमा आन्दोलनले देवी दुर्गाको आशीर्वादमा साहस र शुद्धताको बाटो खोज्ने उल्लेख गर्दै पर्वपछि शान्तिपूर्ण तर दृढ रुपमा आन्दोलनलाई निरन्तरता दिने घोषणा गरिएको छ।